Latest Updates :

‘लिलीबिली’ मा ३० लाख अस्वीकार गरे अनमोल केसीले, २२ लाख लिए प्रदीप खड्काले

SHARE THIS POST :
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा युवा पुस्ताको आगमन बढ्दो छ । नयाँ नायक नायिकाको क्रेज दर्शकमा धेरै देखिएको छ । एउटै चलचित्रबाट स्थापित र लोकप्रियताको शिखरमा पुग्ने नयाँ कलाकारको संख्या बढ्दै गएको छ ।

यिनैमध्येका एक हुन् अनमोल केसी । अनमोलले खेलेका एकपछि अर्को चलचित्र हिट भएका छन् । अनमोलले खेलेका ‘होस्टल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ ब्याक टु ब्याक हिट भएका छन् । उन यतिखेर ‘कृ’ चलचित्रमा अनुबन्ध छन् । ‘कृ’ का लागि उनले २० लाख पारिश्रमिक लिएका थिए । जुन पारिश्रमिक नेपाली कलाकारले अहिलेसम्म लिएकोमध्ये धेरै हो । अब अनमोलको त्यो कीर्तिमान भंग हुने भएको छ । उनीभन्दा धेरै पारिश्रमिक लिनेमा नायक प्रदीप खड्का परेका छन् । प्रदीपले नयाँ चलचित्र ‘लिलीबिली’ का लागि २२ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् ।

प्रदीप खड्काअघि ‘लिलीबिली’ चलचित्र निर्माण पक्षले नायक अनमोल केसीसँग ३० लाख पारिश्रमिक र ३० प्रतिशत नाफाको रकम दिने सहमति गरेको थियो । तर, त्यो सहमति भएको तीन दिनपछि अनमोलका बाबु भुवन केसीले छोराको डिमान्ड धेरै भएको भन्दै निर्माण पक्षसँग नाफाको ४० प्रतिशत मागेपछि सहमति भाँडिएको थियो । अनमोल र भुवन अहिले अमेरिका पुगेका छन् । शनिबार हुने अवार्ड कार्यक्रममा भाग लिएर उनीहरू नेपाल फर्कने भएका छन् ।

अनमोल केसीले ३० लाख पारिश्रमिक र नाफाको ३० प्रतिशत रकम अस्वीकार गरेपछि ‘लिलीबिली’ चलचित्र युनिट निकै तनावमा परेको थियो । स्रोतका अनुसार त्यसपछि ‘लिलीबिली’ युनिट ‘प्रेमगीत’ स्टार प्रदीप खड्काकहाँ पुग्यो । प्रदीपले अभिनय गरेको ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ दुवै हिट भएका छन् ।

अधिकांश सुटिङ युरोपमा हुने चलचित्र ‘लिलीबिली’ मा अभिनय गर्न निर्माण पक्षले प्रदीपलाई प्रस्ताव गर्‍यो । सुरुमै प्रदीपले आफू अहिलेको सर्वाधिक चलेको नायक भएको भन्दै २२ लाख रुपैयाँ र विदेशमा प्रदर्शनको अधिकार पाउनुपर्ने सर्त अघि सारे । सोहीअनुसार निर्माण पक्ष प्रदीपलाई २२ लाख पारिश्रमिक र थाइल्यान्ड तथा म्यान्मारमा चलचित्र प्रदर्शनको अधिकार दिन राजी भएको बताइन्छ । ‘अनमोल केसीभन्दा म केमा कम छु भन्दै प्रदीप खड्काले २२ लाख पारिश्रमिक माग गरे,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार ‘लिलीबिली’ मा अभिनयका लागि प्रदीपले १० लाख अग्रिम पारिश्रमिकसमेत लगिसकेका छन् । मिलन चाम्सले निर्देशन गर्ने ‘लिलीबिली’ को छिट्टै राजधानीको पाँचतारे होटलमा पत्रकार सम्मेलन गरी घोषणा गरिने बुझिएको छ ।

‘लिलीबिली’ मा नायिका शिल्पा मास्केको अभिनय रहने भएको छ । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गर्न लागेका हुन् । यसअघि प्रदीपले ‘रानीमहल’ चलचित्रका लागि १५ लाखको अफर अस्वीकार गरेको चर्चा चलेको थियो ।

 साभार- https://medianp.tv

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger