Latest Updates :

यी १० धर्म पालन गर्ने मानिसको जीवनमा जहिल्यै पनि सुख,शान्ति र धन पर्याप्त मिल्ने

SHARE THIS POST :
काठमाडाै । साधारण धर्म भनेको मानवजातिले अपनाउनुपर्ने धर्म हो । श्राद्ध तथा यज्ञयागाादिका लागि उपयुक्त ब्राह्मण, उपनयन संस्कार पछिका स्नातकहरूको रहन–सहन एवं व्यवहारको नियम, विशेष नियम एवं गृहस्थका लागि शिक्षा, सधै सत्य बोल्नु, प्रिय बोल्नु, अप्रिय सत्य नबोल्नु, प्रिय हुँदैमा झुटो नबोल्नु नै सनातन धर्म हुन् । धर्म कुनै एक व्यक्ति, समुदाय, क्षेत्र तथा देशका नभएर सार्वभौमिक रहेका छन् । मनुस्मृतिमा उल्लेखित यी साधारण धर्मलाई संक्षिप्तमा प्रस्तुत गरिएको छ ।

धृति
सुख तथा दुःख भोग्नै पर्दछ कठिन भन्दा कठिन दुःख आएको समयमा पनि आफूलाई विचलित हुन नदिनु नै धैर्य हो । कष्टमा परेको अवस्थामा धैर्य तथा ज्ञानका कारण व्यक्तिभित्र रहेको आन्तरिक शक्ति प्रकट हुन्छ त्यही आन्तरिक शक्ति नै धृति हो । धैर्य भनेको मानिसलाई कर्तव्यबाट विचलित गराउने होइन कर्तव्यप्रति अझ क्रियाशील हुन अभिप्रेरित गर्नु हो । धैर्य तथा सन्तोष धारण गर्नुपर्दछ भन्नुको अर्थ श्रीमद्भगवद्गीताको कर्मयोगको अवलम्बन गर्नु हो जुन कर्म कर्तव्य तथा धर्म सम्झेर गरिन्छ ।

क्षमा
क्षमा धर्म अहिंसा भन्दा पनि ठूलो तथा उच्च धर्म हो । अपराधीप्रति नरिसाई प्रसन्नताका साथ हृदयदेखि बिना द्वेष अपराधलाई सहनसक्ने क्षमता राख्नु क्षमा हो । कोमलता अर्थांत् क्षमाबाट द्वेष नाश हुन्छ । क्षमा भावको अभ्यासबाट सांसारिक व्यवहारमा हानिका बदला लाभ नै हुन्छ भन्ने विश्वास हाम्रा पूर्वजहरूले गरेका छन् ।

दम
दम भनेको अन्तरात्मालाई वशमा गर्नु हो । सबैको मनमा शुभ तथा अशुभ दुवै भावना हुन्छन् तर अशुभ भावनालाई हटाएर मनलाई शुभ भावनातर्फ क्रियाशील गराउनुपर्दछ । प्राणीका लागि तपस्या अवश्य कल्याणकारी हुन्छ । त्यो तपस्याको मूल मन र इन्द्रियहरूको निग्रह हो । इन्द्रियहरूको निग्रहबाट सबै प्रकारको कामना पूर्ण हुन्छन् । कुनै पनि वस्तुको प्राप्तिका लागि मनको निग्रह अत्यन्त आवश्यक छ तर यो कार्य अत्यन्त कठिन कार्य हो ।

अस्तेय
अस्तेयको अर्थ अन्यायपूर्वक कसैको कुनै प्रकारको वस्तु नलिनु हो । अर्काको कुनै पनि वस्तुमा आफ्नो नैतिक अधिकार छैन भने त्यस्तो वस्तु ग्रहण नगर्नु हो । वर्तमान समयमा कुनै काम गरे वापत् जुन पारिश्रमिक प्राप्त हुन्छ त्यो बाहेक अतिरिक्त आर्जन गरिन्छ त्यसलाई बडो आनन्दका साथ लिने गरिन्छ । त्यो अतिरिक्त आम्दानी पनि चोरी समान नै हो भनेर शास्त्रीय ग्रन्थहरूमा व्याख्या गरिएको छ । यसैगरी महाभारतमा पनि अर्काको धन अन्यायपूर्वक नलिनु नै सनातन धर्म हो भनिएको छ ।

शौच
शौचको अर्थ पवित्रता हुन्छ । जलबाट शरीर शुद्ध हुन्छ, सत्य बोल्दा मन शुद्ध हुन्छ, विद्या र तपस्याका माध्यमबाट सम्पूर्ण चराचर जगत् शुद्ध हुन्छ भने ज्ञानद्धारा बुद्धि शुद्ध हुन्छ । शारीरिक शौचको महत्त्व र आवश्यकता आफ्नै ठाउँमा छ त्यसमा पनि अन्तःस्करणको शुद्धिलाई धर्मशास्त्रीय ग्रन्थहरूमा विशेष महत्त्व दिइएको छ । जसको अन्तःकरण शुद्ध छैन त्यस्तो दुष्टात्माले हजारौं पटक माटो र सयौं घडा जलबाट पनि शुद्ध हुदैन ।

इन्द्रियनिग्रह
कुनै न कुनै इन्द्रियको आशक्तिका कारण मानिसले अधर्म गर्दछ । जबसम्म इन्द्रियहरू वशमा हुँदैनन् तबसम्म अधर्माचरण रोकिदैन । इन्द्रिय निग्रहको तात्पर्य यो हो कि इन्द्रियहरूलाई सदा उत्तम, आवश्यक र कर्तव्यवोध जस्तो कर्ममा लगाउनुपर्दछ । भोग–कामनाका लागि इन्द्रियहरूलाई विषयमा लगाउने होइन ।स्तुति, निन्दा सुनेर, सुखद् तथा दुःखद् स्पर्श हुँदा, सुरूप तथा कुरूपलाई देखेर, मिठो तथा नमिठो खाएर एवं सुगन्ध तथा दूर्गन्ध सुँघेर जो हर्षित तथा दुःखित हुँदैन त्यसैलाई जितेन्द्रिय भनिन्छ ।

धी धी भनेको बुद्धि हो । जसको उत्तम बुद्धि हुन्छ उसलाई कर्तव्याकर्तव्यको ज्ञान हुन्छ । उत्तम बुद्धि आफ्नो र अर्काको क्रियाकलाप तथा अनुभवको परिणामलाई विचार गर्दै त्यसलाई हृदयंगम गर्दै ज्ञान हासिल गरी सोही ज्ञानअनुसार आफूलाई व्यवहारमा उतारेको खण्डमा मात्र प्राप्त हुन्छ । यहाँ धी भन्नुको अर्थ सात्विक बुद्धिलाई नै लक्षित गरिएको छ त्यो बुद्धि ईश्वरसम्बन्धी अनुभवजन्य ज्ञान तथा ब्रह्मविद्याको माध्यमबाट मात्र प्राप्त हुन्छ ।

विद्या
यहाँ विद्याको अर्थ ईश्वरसम्बन्धी अनुभवजन्य ज्ञान तथा ब्रह्मविद्या हो । यहाँ विद्याको अर्थ केवल शास्त्र ज्ञान होइन । ब्रह्मविद्याको प्राप्तिबाट तापत्रयको अन्त्य भई उसको अन्तर दृष्टि खुल्दछ । यसको प्राप्तिका लागि वेदाभ्यास तथा शास्त्रज्ञानको आवश्यकता पर्दछ । त्यसैले हाम्रा शास्त्रीय ग्रन्थहरूमा विद्यार्जनलाई ठूलो महत्त्व दिइएको छ ।

सत्य
सत्यधर्म संसारमा सबैभन्दा ठूलो धर्म हो ।सत्यधर्मको पालनबाट नै सांसारिक कार्यको अन्तिम परिणाममा स्थायी लाभ मिल्दछ । यदि प्रमाद तथा भ्रम पूर्वक कसैले सत्यबाट हानी देख्यो भनें त्यो भूल तथा प्रमाद मात्र हो । सत्य यस्तो धर्म हो जसले मानिसलाई दृढतातर्फ अग्रसर गराउँछ । जब मानिसको हृदयमा सत्य प्रतिष्ठित हुन्छ, त्यही सत्यमा नै क्रियाको फल आश्रित हुन्छ ।

अक्रोध
क्रोध परम प्रबल शत्रु एवं अधर्मको मूल हो । श्रीमद्भागवत् गीतामा आत्मालाई नरक लैजाने तीन प्रमुख द्वार काम, क्रोध र लोभ भएको हुनाले यी तीन कुरालाई त्याग्नुपर्ने पर्ने बताइएको छ । क्रोधले धर्म नाश गर्दछ तसर्थ क्रोधलाई त्याग्नुपर्दछ । क्रोधले शारीरिक हानी हुनुको साथै मानसिक तथा अन्तरात्मालाई पनि हानी पुर्याउँछ ।

धर्मको अर्थ व्यापक छ । धर्मको अभिप्राय समाजको विकासका साथै स्वयं विकास हुने प्रगतिशील कर्तव्यसँग छ । धर्म यान्त्रिक नियमको संग्रह होइन । यो समाजको विकासको साथै जन्म लिई गतिशील हुने जीवित शक्ति हो । यसैले धर्मको अर्थ आफ्नो कर्तव्य र दायित्वलाई उचित रूपले निर्वाह गर्नु हो ।

मानिसलाई धर्मको अनुभव अन्तस्करणबाट हुन्छ । तर यस्तो अवस्थामा अन्तस्करणलाई पनि शिक्षाको आवश्यकता पर्दछ । यज्ञ,दान,क्षमा,सत्य,स्वाध्याय,तप,संयम,अलोभ यी आठ कुराहरू नै धर्मका मार्ग हुन् । धर्मको पालना स्वेच्छाले हुनुपर्छ र अन्तस्करणको आदेशमा जहिले पनि काम गर्ने सपथ लिनुपर्छ । तर यो सजिलो छैन । यसका लागि अनुशासन र नैतिकता चाहिन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger