Latest Updates :

३ बर्षीय छोरो च्यापेर विद्यालय धाउछिन ९ कक्षामा अध्ययनरत १८ बर्षीय भूमिका परियार

SHARE THIS POST :
बाबियाचौर (म्याग्दी), २६ असार । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । मालिका गाउँपालिका–२ खवाङकी भूमिकाका ३ वर्षीय छोरा रिदम पनि आमासँगै विद्यालय जान्छन् ।

दैनिक दुईवटा झोला सहित पिठ्यूँमा छोरा बोकेर विद्यालय जानु र डेरा फर्कनु उनको दैनिकी हो । धौलागिरि गाउँपालिका–६ मराङमा रहेको जनविकास माविमा ८ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा उनको मालिका गाउँपालिकाको खवाङका २८ वर्षीय किरण परियारसँग विवाह भएको थियो । पन्ध्र वर्षमै आमा बनेपछि उनको विद्यालय जाने क्रम छुट्यो । “बाबा–आमाले बिहे गर्नुपर्छ, हामीले टीकाटालो गरिसक्यौँ भनेपछि मैले पनि मन्जुरी दिएँ । विवाह भन्ने नै थाहा भएन । गर्भवती भएपछि बल्न चेत खुल्यो,” उनले भनिन् ।

बिहेपछि पढाइ छुटेपनि चार वर्षपछि मात्र उनी विद्यालय जान थालेकी हुन् । यसबीचमा पनि उनले अर्को पीडादायी घटना व्यहोर्नु प¥यो । गत वर्ष डालेघाँस काट्ने क्रममा भूमिका लडिन् र ढाड भाँचियो । छ महिनासम्म आफैँ दिसा–पिसाब गर्न नसक्ने गरी घाइते भइन् । लामो उपचारपछि भूमिकाको ढाडमा केही सञ्चो त भयो तर पूरै सोझो नहुने भयो । उपचारमा धेरै खर्च भएपछि परिवारमा कचकच पनि थपियो । अब उनलाई पढेर सक्षम हुनुपर्छ भन्ने लाग्न थाल्यो । “मेरा लागि यो बाध्यता थियो, त्यसैले छोरा बोकेर स्कुल आउँदा लाज वा अप्ठ्यारो केही लागेन्”, भूमिकाले भनिन्, “पढेर केही गर्छु भन्ने चाहनाले ४ वर्षपछि स्कुल आएकी हुँ ।”

घाइते भएपछि गाउँमा खेतीपाती र वस्तुभाउ हेरर जीविकोपार्जन गर्ने अवस्था नभएपछि भूमिकाले निर्णय गरिन्, सदरमुकाम झर्ने र पढाइलाई निरन्तरता दिने । गाउँमा हुर्केको, गाउँको स्कुलमै पढेर लामो समयसम्म पढाइ छाडेकी उनले शहरी वातावरणमा फेरिएको पाठ्यक्रम बुझ्न गाह्रो भए पनि पढाइ पूरा गर्ने दृढता लिएकी छिन् ।सदरमुकाम बेनीमा एउटा कोठा भाडामा लिई डेरामा बस्दै विद्यालयको पढाइलाई पुनः निरन्तरता दिएकी उनका पति किरण रोजगारीका लागि अहिले कुवेतमा छन् ।

“उनमा दृढ इच्छाशक्ति र उच्च मनोबल छ । भूमिकाको समस्यालाई ख्याल गरी उनको पढाइमा सहयोग प¥याउन कक्षामा पनि उनको चासो राख्ने गरेका छौँ,” विद्यालयका प्रध्यानाध्यापक हरिकृष्ण सुवेदीले भन्नुभयो, “उनको पढाइलाई निरन्तरताका लागि विद्यालयका तर्फबाट गर्ने सबै सुविधा र सहयोग पनि उपलब्ध गराएका छौँ ।” रासस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger