Latest Updates :

नागरिकता बनाई दिन्छु भन्दै छ हजारमा ३७ लाख मूल्यबराबरको जग्गा पास

SHARE THIS POST :
काठमाडौं, जेठ २६ । नागरिकता बनाउन सदरमुकाम गएका घले आफ्नो जग्गा अरुको नाम कति बेला पास भयो पत्तै पाएनन् | अनपढ जग्गाधनीको सोझोपनको फाइदा उठाउँदै भूमाफियाले करिब ३७ लाख मूल्यबराबरको जग्गा ६ हजार दिएर पास गरेका छन् । नागरिकता बनाउने भन्दै सदरमुकाम ल्याएर जग्गा पास गराइएको हो ।
पालुङटार नगरपालिका–८ धुवाँकोटका ५३ वर्षीय घले कुमाललाई नागरिकता बनाउने भन्दै छिमेकी रामशरण अर्यालले जग्गा पासको कागजपत्रमा ल्याप्चे लगाउन लगाएका हुन् । ‘नागरिकता बनाएको भनेर ६ हजार दिए,’ कुमालले भने, ‘जग्गा पास भएको त पत्तै पाइनँ, नागरिकता पनि पाएँ, पैसा पनि पाएँ, साहुले ठूलै गुन लगाए भन्ने सम्झिएँ । तर, म अनपढलाई झुक्याएका रहेछन् ।’

कुमाललाई फकाएर दुई रोपनी ३ आना जग्गा अर्यालले २ जेठमा मालपोत कार्यालयबाट पास गरेका हुन् । अर्यालले आफ्ना ज्वाइँ तनहुँ भानुमतीका विष्णुकुमार सिग्देलको नाममा जग्गा पास गराएका हुन् । पालुङटार नगरपालिका–८ डाँडागाउँको सडकछेउको कुमालको जग्गा प्रतिरोपनी करिब १६ लाख रुपैयाँ पर्ने स्थानीयको भनाइ छ ।

कुमालका अनुसार भोट हाल्ने वेला नागरिकता चाहिन्छ भन्दै उनलाई फकाएर अर्यालले सदरमुकाम ल्याएका थिए । नागरिकता नहुँदा कुमाल यसपटकको स्थानीय निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएका थिए । अर्को निर्वाचनमा भोट हाल्नुपर्छ भन्दै अर्यालले फकाएर सदरमुकाम ल्याएको कुमालको भनाइ छ ।
‘नागरिकता बनाउन लालपुर्जा पनि चाहिन्छ भनेँ । मैले लालपुर्जा पनि साहुलाई दिएँ,’ उजुरी गर्न सदरमुकाम पुगेका कुमालले भने, ‘कागजपत्र उनले नै मिलाएका थिए ।’आजको नयाँ पत्रिकामा खबर छ |

आफ्नो जग्गा थाहै नपाई अर्काको नाममा पास भएकोबारे घले कुमालले तीन सातापछि मात्र थाहा पाएका हुन् । जग्गा फिर्ता गर्न माग गर्दै कुमालले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
कुमालको जग्गा तनहुँको भानुमती–८ का ४० वर्षीय विष्णुकुमार सिग्देलको नाममा नामसारी गरिएको मालपोत कार्यालयको अभिलेखमा छ । जग्गा पास गर्दा रामशरण अर्याल, उनका बुबा ईश्वरबहादुर, ज्वाइँ सिग्देललाई साक्षी राखिएको छ ।
‘घलेकी कान्छी छोरी प्रमिलालाई पनि साक्षी राखिएको छ । यसमा क–कसको संलग्नता छ भनेर हामी अनुसन्धान गर्दै छौँ,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘जेठी छोरीलाई तेरो बाउले त जग्गा बेचेछन् है भनेर गाउँलेले सुनाएछन् । लालपुर्जा हेर्दा पनि जग्गा पास भएको देखिएको छ । अनुसन्धान हुँदै छ ।’


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger