बैतडी, ४ जेठ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ । बैतडीको साविकको महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
२०४२ साल भदौ १७ गते राती तत्कालिन विजयपुर पञ्चायत अन्तर्गत पर्ने बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० बर्षे कैद सुनाइएको थियो । त्यतिबेला देखि नै भट्ट फरार थिए । ८० बर्षीया भट्टलाई सोमबार आफनै घरबाट प्रहरीले पक्राउ गरी जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
बास बस्नका लागि अर्जुन अवस्थीको घरमा बसेको र सोही राती धनमाल लुट्नका लागि भट्टले अवस्थी परिवारका ४ जना सदस्यको हत्या गरेका थिए । भट्टलाई २० बर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्चले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । बोकेर यताउता लैजानुपर्ने अवस्था रहे पनि कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायव उपरीक्षक शर्माले बताउनुभयो । खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
Post a Comment