Latest Updates :

मनीषा कोइराला भन्छिन्- 'जन्मजात विद्रोही म'

SHARE THIS POST :
शुक्रबार, २९ बैशाख २०७४, १२ : ५४ |  नागरिक
अभिनेत्री मनीषा कोइराला बलिउडकी उम्दा अभिनेत्रीमध्ये एक हुन्। एक भारतीय मिडियासँग उनले गरेको कुराकानीः

करिअरको उत्कर्षमा पुगेका बेला तपाईंले फिल्म लाइन छोड्नुभयो, किन?

मैले यसो गर्नुका पछाडि केही व्यक्तिगत कारण थिए। त्यतिखेर मलाई क्यान्सर लागेको थाहा पाएकी थिएँ। मैले अझ ठूलो लडाइँ लड्नुपर्ने भयो। फेरि, धेरै काम गरिसकेकाले म थाकेकी पनि थिएँ। एक पटक मैले डिम्पल कपाडियालाई भनेकी पनि थिएँ, 'बिहान उठ्ने, सुटिङमा जाने र थाकेर बेलुका घर फर्किने 'रुटिन्ड लाइफ'बाट म वाक्कदिक्क भइसकेँ।' जवाफमा उनले भनेकी थिइन्, 'त्यसो होइन, अहिले जे भोगिरहेकी छौ, त्यसमा रमाऊँ, किनकि जीवन सधैँ अहिलेको जस्तो रहँदैन।' समयले कतिखेर कसरी कोल्टे फेर्छ भन्ने कसैलाई थाहा हुँदैन। जीवनको शाश्वत सत्य यही हो।

डिम्पलले त्यतिबेला तपाईंलाई दिएको सुझाव अहिलेका अभिनेत्रीका लागि उपयोगी छ कि छैन?

डिम्पलले त्यतिबेला भनेका कुराको म सम्मान गर्छु। तर, म अहिलेका अभिनेत्रीहरूलाई भन्न चाहन्छु, 'रमाइलो हुञ्जेलसम्म यो क्षेत्रमा रहनू। गर्नैपर्ने रहेछ भनेर नगर्नू। काममा रमाइलो लाग्दैन भने काम छोडेर अर्को विकल्प रोजेकै राम्रो!'

जीवनको कठिन समयबाट गुजि्रँदा कस्तो अनुभव गर्नुभयो?

कठिन समयमा मानिसहरू तपाईंसामु आउँदैनन्। तर, उनीहरूले स्वार्थी भएर त्यसो गरेका होइनन्। तपाईंलाई अप्ठ्यारो अवस्थामा देख्नुपर्ला भन्ने भय उनीहरूमा हुन्छ। मलाई क्यान्सरले च्यापेको बेला मेरो वरिपरि सबै मित्रजन, आफन्तजन हुँदैन थिए। यसले मलाई असह्य पीडा दिन्थ्यो। तर, पछि बुझेँ, क्यान्सरसँग मैले संघर्ष गरिरहेको दृश्य हेर्न उनीहरू डराएका रहेछन्। अप्ठ्यारो समयमा मेरो परिवार, ज्याकी स्रोफ र गुल्सन ग्रोबरलगायत मेरा सहकर्मी मेरो साथमा उभिए। त्यतिखेर म अमेरिकामा थिएँ। सायद मुम्बईमा भएको भए अझ बढी मानिस म भएको ठाउँमा आउँथे। क्यान्सरलाई जितेका मानिसले मलाई सम्बोधन गरेर पठाएका पत्र पनि मैले पाएँ। यसले मलाई आशावादी बनायो।

उपचारपछि तपाईंलाई काममा फर्किन बढी समय लाग्यो किन?

मलाई जति पनि कामका प्रस्ताव आए, ती मन परेनन्। फिल्ममा मैले निर्वाह गर्ने पात्रप्रति पूर्ण रूपमा विश्वस्त भएपछि मात्रै काम हातमा लिने सोच बनाएकी थिएँ। राम्रो कुरा के छ भने मैले जीविका चलाउनका लागि काम गरिरहनुपर्दैन। त्यही भएर पनि कामको गुणस्तरमा बढी ध्यान दिन्छु।

तपाईं सन् १९९० को दशककी 'बोल्ड' अभिनेत्रीमा पर्नुहुन्छ। त्यसयताको सिनेमालाई कसरी हेर्नुभएको छ?

म बोल्ड थिएँ भन्ने मलाई लाग्दैन। 'अनस्त्रि्कन' किस गर्नेबाहेक मैले अरू केही गरेकी छैन। तर, म बोल्ड व्यक्ति चाहिँ हुँ। सम्बन्धप्रति म इमानदार छु। खुलेआम चुरोट र रक्सी सेवन गर्छु। धेरै मानिसले बोल्न असहज मान्ने कुरा म फ्याट्टै बोल्न सक्छु। म जन्मजात नै विद्रोही हुँ। डराउने, लजाउने, सम्झौता गर्ने, मौन रहनेजस्ता कुरा ममा कहिल्यै थिएन।

अहिले सिनेमाले प्रगति गरिरहेको छ। कलाकारदेखि पटकथाकार सबै उत्कृष्ट छन। व्यावसायिक र प्राविधिक रूपमा बलिया छन्। सिनेमा अहिले हाम्रो संस्कृतिको बलियो अंग बनिसकेको छ।

अहिलेका अभिनेत्रीको कामलाई कसरी लिनुभएको छ?

अहिलेका अभिनेत्रीका पर्फर्मेन्स एकदमै राम्रो छ। ८० र ९० को दशकताका हिन्दी सिनेमा सिकारु खालको थियो। हामी आवश्यकताभन्दा बढी नाटक गर्थ्यौं। अहिले आर्ट मुभी र कमर्सियल मुभीबीचको सीमा पातलिँदैछ। अहिलेका सिनेमा बढी जीवन्त छन्, पश्चिमका जस्तै गुणस्तरीय छन्। आलिया भट्ट र कंगना रनोट मलाई मन पर्ने अभिनेत्री हुन्। उनीहरूको काम अद्भुत लाग्छ। विद्या वालनको अभिनय पनि मन पर्छ। उनीहरू मभन्दा राम्रा कलाकार हुन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger