मधेसी–थारुको आन्दोलन शान्तिपूर्ण भनिएको थियो । सबै नेताले बारम्बार शान्तिपूर्ण भनेका थिए । शान्तिपूर्ण भनिएको आन्दोलनमा सुरक्षाकर्मीलाई लखेटी–लखेटी, भाला, बञ्चरो, खुकुरीले क्षतविक्षत बनाएर हत्या गर्नु राजनीतिक कार्य कदापी हुन सक्दैन । अहिलेका गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक घटना भन्नु भएछ । मेरो श्रीमान् नेपाल प्रहरीका निरीक्षक केशव बोहोरालगायतले हामीलाई छाडिदिनुस् भनेर हात उठाइसकेको अवस्थामा समेत पाशविक ढंगले बर्बरतापूर्वक हत्या गरियो ।
यस्तो बर्बरतापूर्वक हत्या गर्नेलाई राजनीतिको नाममा छुट दिने हो भने हत्या अभियोगमा जेल बसेकालाई पनि जेलमुक्त गर्नुपर्छ । मान्छे मार्दा पनि यो देशमा कानुन लाग्दैन भने बाँकी अपराधमा हुने सजाय पनि छुट दिनु पर्छ । राजनीतिको नाममा जघन्य अपराध गर्नेहरुलाई छुट दिन कसरी मिल्छ ? यो कहाँको न्याय हो ?तराईमा आन्दोलन गर्ने कुनै नेताको कोही आफन्त मारिएका छैनन् । उनीहरु कसैले केही गुमाएका पनि छैनन् । गुमाएका हामीले छौं । हाम्रो त परिवार नै उजाड भएको छ । तर पनि हामीले सरकारसँग केही मागेका छैनौं । हामीले मागेको भनेको न्याय हो । जुन नमागि नै सरकारले दिनु पर्ने थियो । तर सरकार त उल्टै अपराधिलाई जोगाउन लागि परेको छ । टीकापुर घटनाका मुख्य अभियुक्तलाई प्रधानमन्त्रीले भेटेका छन् ।
Post a Comment