Latest Updates :

फिल्ममा श्रीदेवीको आधा शताब्दी

SHARE THIS POST :

वैशाख २९, २०७४- हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार मानिन्छ श्रीदेवीलाई । सन् १९६० कै दशकदेखि फिल्म खेल्न थालेकी उनी यसपालि फिल्म उद्योगमा आफ्नो स्वर्ण जयन्तीको खुसीयाली मनाउँदै छिन् । आफ्नो ३०० औं फिल्म ‘मम’ को प्रतीक्षामा रहेकी उनलाई ट्ेरलरबाट चौतर्फी तारिफ मिलिरहेको छ ।

दक्षिण भारतका वितरकले पनि उनको फिल्मलाई समर्थन गरेका छन् । फिल्म हिन्दी, तामिल, तेलुगु र मलयालम भाषामा डबिङ भइसकेको छ । फिल्मका निर्माता एवं श्रीदेवीका पति बोनी कपुरका अनुसार टिजर बाहिर आउनासाथ अनलाइन वितकरले यसको माग गरेका थिए । फिल्मप्रतिको उत्सुकता निकै बढिरहेको उनले बताए ।

श्रीदेवीले फिल्म खेलेको ठयाक्कै ५० वर्ष पुग्ने दिन अर्थात् जुलाई ७ मा ‘मम’ रिलिज हुँदै छ । यही दिन सन् १९६७ मा उनको पहिलो फिल्म ‘कंदन करुनई’ प्रदर्शन भएको थियो । त्यो फिल्म गर्दा उनी चार वर्षकी मात्र थिइन् । त्यसपछि उनले ‘जुली’ मा पनि बालकलाकारका रूपमा अभिनय गरिन् ।

सन् १९७८ मा बनेको ‘सोलह सावन’ बाट भने उनले मुख्य कलाकार भएर काम गर्न थालिन् ।
‘जुदाई’ मा काजल वर्माको भूमिकामा देखिएपछि उनलाई त्यो बेलाका सबै फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको ट्रफी दिइयो । त्यसको निर्माण श्रीदेवीका ससुराले गरेका थिए । ‘हिम्मतवाला’, ‘तोहफा’, ‘मिस्टर इन्डिया’, ‘नागिन’ जस्ता फिल्मले उनलाई बलिउडकी सर्वाधिक व्यस्त र खोजिएकी अभिनेत्री बनाइदिएका थिए ।

श्रीदेवी र जया प्रदा आफ्नो जमानाका ठूला प्रतिस्पर्धी थिए । उनीहरूबीच राम्रो सम्बन्ध थिएन । कतिसम्म भने ‘मकसद’ को छायांकनका क्रममा श्रीदेवी र जयालाई एउटै कोठामा थुनेर राख्नुपरेको थियो । राजेश खन्ना र जितेन्द्रले दुवैलाई थुनेर बोलचाल गराउन चाहेका थिए । अभिनेत्रीहरू भने एक–अर्काको अनुहार समेत हेर्न नरुचाउने भएकाले दुई घण्टापछि ढोका खोल्दासमेत उनीहरू मुन्टो फर्काएरै बसेको पाइएको थियो रे ।

निर्देशक इन्द्र कुमारले ‘बेटा’ फिल्मका लागि सुरुमा श्रीदेवीलाई प्रस्ताव गरेका थिए । अनिल कपुरसँग धैरे काम गरेकाले अब अरू नगर्ने भन्दै उनले अस्वीकार गरिदिएपछि माधुरी दीक्षितले ठाउँ पाएकी थिइन् । सोही फिल्मबाट माधुरी रातारात सुपरस्टार बनिन् ।

बलिउडका चर्चित अन–स्क्रिन जोडीमध्ये जितेन्द्र र श्रीदेवीको जुगलबन्दी निकै रुचाइन्थ्यो । उनीहरूलाई करिब डेढ दर्जन फिल्ममा एक–अर्काका जोडीको रूपमा देख्न सकिन्छ । तीमध्ये ‘हिम्मतवाला’, ‘घर संसार’ गरी ११ वटा त ब्लकबस्टर नै भए । श्रीदेवीलाई भारत सरकारले सन् २०१३ मा पद्मश्री अवार्ड दियो । उनले पाँचवटा फिल्म फेयर अवार्ड जितिसकेकी छन् ।

श्रीदेवी १९८० तिर भारतकी सर्वाधिक महँगी अभिनेत्री थिइन् । बलिउड प्रवेश गर्दा उनलाई हिन्दी राम्ररी बोल्न आउँदैन थियो । अरूले नै उनको स्वर डब गरिदिन्थे । अमिताभ बच्चनसँगको ‘आखिरी रास्ता’ मा अभिनेत्री रेखाले श्रीदेवीलाई स्वर दिएकी थिइन् ।

तमिलनाडुमा जन्मिएकी श्रीदेवीका दुई छोरी छन्– जाह्नवी र खुसी । दुवै बलिउडमा पदार्पण गर्न खोजिरहेका छन् ।

श्रीदेवीले सुरुमा मिथुन चक्रवर्तीसँग सुटुक्क बिहे गरेकी थिइन् । मिथुनले यो कुरा स्विकारेका छन् । तर, दुईबीचको सम्बन्ध दिगो भएन । श्रीदेवीले पछि दुई सन्तानका बाबु बोनी कपुरसँग बिहे गरिन् । यसरी उनी अर्जुन कपुरकी सौतेनी आमा बन्न आइपुगिन् ।

५४ वर्षे श्रीदेवी नाच्नमा पनि त्यत्तिकै कुशल मानिन्छिन् । ‘हवा हवाई...’, ‘नयनों में सपने...’, ‘मेरे हाथों में नौ–नौ चुडियाँ हैं...’ जस्ता गीतमा उनको नृत्य निकै रुचाइने गरिन्छ । नाच्नमा उनी कतिसम्म रत्तिन्थिन् भने, ‘चालबाज’ को गीत ‘ना जाने कहाँ से आया है...’ को छायांकनका क्रममा उनलाई १०३ डिग्री ज्वरो आएको थियो । यद्यपि, त्यसमा उनको नृत्यलाई सबैले तारिफ गरेका थिए ।




प्रकाशित: वैशाख २९, २०७४
कान्तिपुर ›मनोरञ्जन


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger