Latest Updates :

प्रधानन्यायाधीशलाई खुलापत्रः ‘म त हजुरकी छोरीभन्दा सानी छु, मलाई बलात्कार गर्नेहरुलाई कहिले सजाय दिनुहुन्छ ?’

SHARE THIS POST :
ढिलो न्याय दिनु भनेको लज्जास्पद कुरा भन्ने मैले सुनेकी छु । मैले के गलत गरेँ र पीडामाथि थप पीडा सहन बाध्य पारिएकी छु । नेपालको इतिहासमा वर्तमान समय भनेको स्वर्णिम काल हो । राष्ट्रपतिको पदमा महिला, न्यायपालिकाको प्रमुख प्रधानन्यायाधीश महिला तथा सभामुख जस्तो गरिमामय पदमा महिला व्यक्तित्व आशिन भएको अवस्थामा । म सामूहिक बलात्कार पीडित छोरीले न्याय नपाउनु भनेको कतिसम्मको लज्जास्पद कुरा होला ?
नेपाल सरकारका तर्फबाट नायब महान्याधिवक्ता बद्रीप्रसाद गौतमले मिति २०७१ साल मंसिर २१ गते सर्वाेच्चमा पुनरावेदन गरेकोमा यसरी पुस २ गते दर्ता भएको मुद्दा नं. ०७१–ऋच्–०६५९ मा ०७१ माघ माघ ४ गते पहिलो पेशीमा चढेको थियो तर पालो आएन भनेर पन्छाइयो, ०७१ फागुन २० गते साप्ताहिक पेशी सूचिबाट पेशी स्थगित भई पुनः पेशीमा चढ्ने आदेश भएको मेरो मुद्दा ०७१ चैत्र १५ गतेको पेशी तोकिएको लागि सुनुवाइको पा%Bेर्न भ्याइएन भनेर थन्कियो ।
त्यसपछि ०७२ बैशाख १६, असार ३, श्रावण २७, असोज १७ , मंसिर १३ गते पनि हेर्न भ्याइएन भनी लेखिएको सर्वाेच्च अदालतको वेवसाइटमा देखेँ । अनि त्यसपछि पुष २७ को पेशी भने सो दिन कजलिष्टमा नै परेन भन्ने जानकारी पाएँ । कजलिष्टमा नपरेपछि पालो आउने कुरै भएन । त्यसपछि पनि फागुन २ गते पछि ०७३ सालको जेठ ३० मा पनि मेरो मुद्दाको लागि सुनुवाइको पालो आएन । त्यसपछि फेरि ५ महिना पछि मेरो मुद्दा पेशीमा चढ्यो रे कार्तिक २९ गतेको लागि तर मेरो मुद्दा स्थगित गरियो भनेर मेरो वकिलले जवाफ दिँदा म मर्माहत भएँ ।
उहाँका अनुसार मेरो मुद्दाको अब करिब ५ महिनापछि चैत्र १ गतेको लागि पेशीमा चढेको छ । मलाई लाग्छ यसपटक पनि मेरो मुद्दामा सुनुवाइको पालो आउँदैन ।
माननीयप्रधान न्यायाधीश
सुशीला कार्कीज्यू,
नमस्कार ।
म एउटी १९ बर्षीया गरिब परिवारकी छोरी हुँ । मैले हजुरको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन तापनि हजुरलाई मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ति भएमा शुरुमै क्षमा चाहान्छु ।
मेरो नाम पूजा बोहरा हो । मेरो घर पहाडी जिल्ला बैतडीको दुर्गम गाउँ कैलापाल गाविसमा पर्छ । मेरो गाउँमा मोटरबाटो बिजुली बत्ति पुगेको छैन अनि मेरो बुबाको यथेष्ट जग्गा जमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर आफ्नो ६ सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिब र अशिक्षित भएपनि शायद उहाँले शिक्षाको महत्व बुझ्नु भएकैले होला मलाई गाउँकै स्थानीय श्री कैलास प्राविमा भर्ना गरिदिनु भयो ।
मेरो भाग्य नै भन्नुपर्‍यो जुन दिन विद्यालय टेक्ने अवसर पाएँ त्यो दिनदेखि कुनैपनि परीक्षामा दोस्रो हुनुपरेन । पढाइको साथसाथै विद्यालयले आयोजना गर्ने वक्तृत्वकला, चित्रकला, खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि म उत्कृष्ट नै हुदैगएँ ।
हरेक प्रतिस्पर्धामा उत्कृष्ट हुँदै गएपछि विद्यालयमा सबैले चिन्ने भए र गुरुहरुको प्रिय विद्यार्थी बनेर पुजिएँ । मेरो नाम जस्तै सवैतर्फबाट मेरो पुजा हुनथाल्यो । छोरी होस् त फलानो जस्तो भन्ने सुन्दा मेरा गरिब आमा बुबा गर्वका साथ सन्तुष्टिको स्वास फेर्नुहुन्थ्यो । पढाइ अरुभन्दा तेज भएको कारणले मलाई विद्यालयले छात्रावृत्तिको सुबिधा दिएको थियो । आफ्नो घरै नजिकको विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । ५ कक्षा भन्दा माथि पढ्न अर्को विद्यालय जानु पर्ने भयो । जुन मेरो घरबाट डेढ घण्टाको उकालो ओरालो जंगलै जंगलको बाटो थियो ।
एक त म सानी ९ बर्षकी थिएँ अर्कोतर्फ जंगलै जंगल एक्लै विद्यालय जानुपर्ने भएकोले मेरो आमा बुबाले अब विद्यालय जानु पर्दैन बरु अब विबाह गरिदिनु पर्छ भन्नु भयो । मेरो गाउँमा महिनावारी नभएकी छोरीलाई बेहुली बनाएर अन्मायो भने ठूलो धर्म लाग्छ भन्ने विश्वास छ । आमा बुबाको यो निर्णय सुनेर मेरा स्कुलका गुरुहरु घरमै आई मेरो आमा–बुबालाई सम्झाइ बुझाइ गरिदिनु भयो र मैले अर्को विद्यालय गएर पढ्ने अवसर पाएँ । मेरो आमा–बुबा गरिब भएको कारण मट्टितेल किन्न पनि सक्नुहुन्नथ्यो टुकी बत्ति बाल्न सकिँदैनथ्यो ।
बिजुली बत्ति पुगेको थिएन । त्यसैले मैले राति जुनको उज्यालोमा पढ्न पढ्ने गर्थेँ राति काम सकेर सधैँ मेरी आमा मेरो गृहकार्य नसकुञ्जेलसम्म मसँगै बसिरहनु हुन्थ्यो । मैले नदेख्ने गरी आँशुका धारा बगाइ रहनुहुन्थ्यो । यसरी नै मेरा दिनहरु अगाडि बढ्ने गर्दथे । बिहान बेलुका घरमा आमालाई काम पनि सघाउथेँ ।
अर्को विद्यालय गएपछि मैले झन् मेहेनत गरेर पढ्न थालेँ जसरी हुन्छ एसएलसी मा राम्रो अंक ल्याएर पास गर्ने र भविष्यमा इन्जिनियर बनि आफू जन्मेको दुर्गम पहाडी गाउँमा विकास गर्ने, मनमनै अठोट गरेकी थिएँ । पहिले ५ कक्षासम्म पढ्दा विद्यालय र गाउँमा मात्र चिनिएकी म पछि सिद्धेश्वर उच्च मा वि. मेलचौरमा पढ्न थालेपछि जिल्ला स्तरीय क्रियाकलापमा सक्रिय हुनथालँपछि जिल्लाभरि परिचित भएँ ।
सबै गुरुहरुले मलाई –“तिमीबाट हामीले धेरै आशा गरेका छौँ, आफ्नो पढाईलाई अझै राम्रो बनाउनु” भन्ने सुझाब दिनुहुन्थ्यो । उहाँहरुको त्यो सुझाबबाट हौसिएर मैले २०६८ सालको एस.एल.सी. परीक्षाको राम्रो तयारी गरिरहेकी थिएँ । २०६८ साल चैत्र ७ गते देखि एसएलसी परीक्षा शुरुहुने सरकारी निर्णय भयो र सिद्धेश्वर उच्च माविका विद्यार्थीको लागि बैतडी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो । एसएलसीको लागि परीक्षा केन्द्र तोकिएको विद्यालय मेरो घरबाट ५ घण्टाको पैदल यात्रापछि मात्र पुगिने र परीक्षा विहानै ८ बजे देखि शुरु हुने भएकोले मलाई फेरी अर्को समस्या आइपर्‍यो ।
यो परीक्षा दिनको लागि मैले आफ्नै घरबाट आवत–जावत गर्न व्यवहारिक कठिनाइ भयो । बुबाले बजारस्थित एकजना आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिनुभयो ।
२ दिनको परीक्षा पछि १ दिन छुट्टि थियो । गणितको तयारीको लागि बिदा भएको कारण म मेरो आफन्तको अनुमति लिएर पाटन बजार स्थित पुस्तक पसलमा एउटा गणितको गेसपेपर किनेर ल्याउँछु भनेर गएँ । त्यो बजारमा एउटै मात्र पुस्तक पसल थियो । एसएलसी परीक्षा चलिरहेको कारण पुस्तक पसलमा विद्यार्थीहरुको भीड थियो । म आफ्नो पालो कुरिरहेकी थिएँ । पुस्तक पसले हिजोको जाँच कस्तो भयो, राम्रो गर्‍यौ ? भन्दै मसँग बोल्दै थियो । मलाई प्यास लाग्यो चैत्रको महिना त्यसै पनि गर्मी बढेको थियो । मैले पानी दिनुुस्न दाइ कस्तो प्यास लाग्यो भनेर पानी मागेँ । उसले–“एकै छिन् है” भनी पुस्तक पसलको सटरबाट भित्र अर्को कोठातिर गयो ।
अनि रित्तै आई “पानी सकिएको रहेछ मैले लिन पठाएको छु” भन्यो । मैले ठिकै छ घरमै गएर पिउँछु मलाई किताब दिनुुस् गैहाल्छु भनेँ । त्यतिकैमा अर्को मान्छेले हातमा सोडाको गिलास बोकेर आयो । एउटा मलाई दिए अनि २ वटा तिनीहरुले एक एक गिलास पिए । त्यो सोडापानी पिएको ४,५ मिनेट जतिमै मलाई कस्तो चक्कर लागे जस्तो, त्यो पसल पुरै उल्टो फर्के जस्तो, वाकवाक लागे जस्तो भयो मैले त्यही पुस्तक पसलेलाई–दाई मलाई वाकवाक लागेजस्तो भयो ट्वाइलेट कता छ भनी सोधेँ । उसले ट्वाइलेट अलिक पर छ म देखाइदिन्छु भनी अघि अघि लाग्यो ।
म ट्वाइलेट भित्र पस्ने बित्तिकै उ पनि म सँगसगै पस्यो । मैले किन आएको भन्दा हल्ला नगरी मैले जेजे भन्छु त्यही मान् भनी भित्तातिर धकेल्यो । एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो । उसले– “कोही आए भने मलाई बोला है” भनी अर्को को मान्छेलाई हो त्यो ट्वाइलेट बाहिर अर्‍हाएको सुनेकी थिएँ । अब ट्वाइलेट भित्र २ जना केटाहरु र म भयौँ । मेरो खुट्टा थरथरि काम्न थालेको थियो । अत्तालिएर स्वर पनि मज्जाले निस्किरहेको थिएन ।
तर पनि गुहार भन्दै चिच्याइरहेकी थिएँ । म चिच्याएको देखेर उनिहरु एक जनाले मलाई समात्ने अर्कोले कपडा खोल्ने गरे तर म आफुलाई बचाउन ठूलो कसरत गर्दै थिएँ । २,३ मिनेटको घम्साघम्सी पछि त्यो ट्वाइलेटमा बिलेट रहेछ त्यो बिलेटले मेरो खुट्टाको औँलामा, पैतालामा काटिदिए । अब यो बिलेटले तेरो घाँटी चिर्छौँ भन्दै थिए । म रुन कराउन, बोल्न नसक्ने भसकेकी थिएँ । उनीहरुले काटेको ठाउँबाट रगत बगिरहेको थियो । यतिकैमा उसले आफ्नो कपडा खोलेर मेरो मुखमा कोचिदिए र पालैपालो मेरो अस्मिता लुटे ।
मलाई सामुहिक बलत्कार गरे । मेरो अस्मिता लुट्नेहरु एउटा बैतडी जिल्ला भूमेश्वर– ३ को सागर भट्ट (वर्ष २३) को थियो भने अर्को बैतडी गुजर– २ को अमर अवस्थी (वर्ष ३०) को थियो । सागर भट्ट भन्ने जगन्नाथ पुस्तक पसलको संचालक थियो भने अमर अवस्थी चादनी फोटो स्टुडियोको संचालक थियो । उनीहरुले मलाई कति घण्टासम्म लुछे, त्यो मलाई याद छैन । मेरो होस् आउँदा म ललितपुर जिल्लाको पाटन मानसिक अस्पतालको आकस्मिक कक्षमा लडिरहेकी थिएँ ।
माननीय प्रधान न्यायधीशज्यू, हिजोसम्म सबैकी हाइहाई भएर जिल्लाभरि पुजिएकी र्म पुजा’, सबैकी प्रिय पुजा अनि भविष्यमा इन्जिनियर बनि आफ्नो दुर्गम जिल्लामा योगदान पुर्‍याउने उच्च अभिलाषा बोकी बडो हर्षका साथ एसएलसी. परीक्षामा सामेल भैरहेकी म “पूजा” आज सबैकी तिरस्कारकी पात्र भएकी थिएँ । सबै पत्रपत्रिका ,टिभी, एफएममा मेरो समाचार छापिएको थियो । मेरो परिचय फेरिएको थियो । १४ वषर््ीाया बालिका एसएलसी दिन जाँदा सामुहिक बलात्कारमा परी मानसिक सन्तुलन गुमाई अस्पतालमा………..!
पछि मैले मेरो बुबा आमा र काकाबाट थाहा पाएँ । ती पशुहरुले मलाई लुछ्नु जति लुछेर मरी भन्ने ठानी एकान्त नालीमा फालीदिएका रहेछन् । पुस्तक किन्न भनी हिँडेकी म बेलुकासम्म नफर्किएपछि मेरा आफन्तहरुले खोज्न जाँदा मलाई रगताम्य भई घ्यार घ्यार गरी नालिमा लडिरहेको अवस्थामा भेटएका थिए रे । बेहोश अवस्थामा भेट्टाएका मलाई होसमा त आएँ तर पुरै मानसिक सन्तुलन विग्रेको हालतमा ।
उता बैतडीमा मेरो स्कुलमा सबै साथीहरु , गुरुहरु एकजुटभई जुलुस निकालेपछि मात्र बल्ल ती २ जना अपराधीलाई प्रहरीले समातेर अनुसन्धान थाल्यो । अनि म माथि परेको घटनाप्रति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीले सहानुभूति प्रकट गर्नुभयो । मिडियाले लगातार मेरो अवस्थालाई उजागर गरिदियो । त्यसैले तत्कालीन बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी तत्काल मलाई एक लाख रुपैयाँ औषधिउपचार खर्च भनी प्रदान गर्‍यो ।
घटना भएको ६ महिनापछि मात्रै मेरो मानसिक अवस्थामा सुधार आई पहिलेका कुराहरु सम्झन सक्ने भएँ । उता अपराधीहरुले मेरो मानसिक अवस्था विग्रिएको भएको भन्ने थाहापाएर– “पागलले त जे पनि भन्छ, जसलाई पनि आरोप लगाउँछन् ।
हामी निर्दोष छौँ” भन्दैछन् रे भन्ने सुनेँ तसर्थ २०६९ सालको पुष ९ गतेका दिन म रक्षा नेपालका कर्मचारी र मेरो अभिभावकको सहयोगमा जिल्ला अदालत बैतडीमा उपस्थित भई जिल्ला न्यायाधीश श्री हिमालयराज पाठकको अगाडि बयानको लागि उभिएँ । त्यतिबेला मेरो सामुन्ने उभिएका ती अपराधीको हर्कत मैले यहाँ बयानै गर्न सक्दिनँ । मेरो बयान, केन्द्रीय प्रहरी विधी विज्ञान प्रयोगशालाले गरेको कपडा परीक्षण, अस्पतालले सामुहिक बलत्कार भएको भनी दिएको स्वास्थ्य परीक्षणको रिर्पोट लगायत अन्य अनुशन्धान र प्रमाणको आधारमा जिल्ला न्यायाधीशको इजलासले ती अपराधीहरुलाई १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँको जरिवाना तोक्यो ।
बयानपछि फेरि फर्किएर रक्षा नेपालकै सेल्टरमा आएँ । संस्थाकै सहयोगमा आत्मविश्वासी, निडर बन्ने तालिम लिन थाले । २०६८ सालको एसएलसी ती अपराधीको कारण छुटिहाल्यो । इन्जिनियर बनी देशको सेवा गर्ने सपना टुटिहाल्यो । २०६९ साल भरी मानसिक र शारीरिक अवस्था मजबुत पार्ने, अदालत धाउने मै गयो भने संस्थाकै सहयोगमा २०७० सालमा पुनः १० कक्षा दोहोर्‍याएर पढेँ र त्यही सालको एस.एल.सी मा ७० प्रतिशत अकं ल्याइ फस्ट डिभिजनमा पास हुन सफल भएँ ।
यो सफलतासँगै पुनः आफ्नो लक्ष्यमा पुग्ने सपना देख्न थालेँ । अलिकति खुशी हुन नपाउँदै २०७१ सालको असार ३ गते कान्तिपुर दैनिकको प्रथम पेजमा – बैतडीमा छात्रा बलत्कार प्रकरणः— सामुहिक बलत्कारमा दोषी ठहरिएकालाई उन्मुक्ति भन्ने समाचार छापिएको देखँे । त्यही समाचारबाट थाहा भयो १ वर्ष अगाडि बैतडी जिल्ला अदालतले १३ वर्ष कैद भनी गरेको फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्टाइदिएको रहेछ र दुवैजना अभियूक्तलाई निर्दोष भनी सफाई दिएको रहेछ । यो फैसला सुनेर अहिले मेरो हालत के भइरहेको छ भन्ने कुरा म यहाँ व्यक्त गर्न सक्तिन र कसैले अन्दाज पनि लगाउन सक्तैन । अहिले ती दुबैजना अपराधी ठूलै यूद्ध जिते जसरी गाउँमा छाती फूलाएर हिँडिरहेका छन् म भने यूद्धमा हारेको सीपाहीँ झै लत्रिएर बस्नु परेको छ ।
यसै क्रममा २०७१ साल पुस १ गते मंगलबारका दिन कान्तिपुर दैनिक मार्फत “मेरो जीवन निमोठ्ने निर्दाेष हुन् ?” भन्ने शीर्षकमा तत्कालिन कानुन तथा न्याय मन्त्री नरहरि आचार्यज्यूलाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गरेँ । यसपछि सबैतिरबाट चासो र चिन्ता व्यक्त भयो । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा तत्कालीन कानुनमन्त्री पत्नी श्री शारदा शर्मा मलाई आश्रय दिइरहेको संस्था रक्षा नेपालमा नै भेट्न आउनुभयो । त्यसै गरी देशभरिका सर्वसाधारण जनता, वकिल, पत्रकार तथा सबै व्यक्तिहरुले मेरो घटनाप्रति सुभेक्षा व्यक्र गरे । तत्कालीन कानुन मन्त्रीले त्यही पत्रिका मार्फत मलाई जवाफ लेख्दै –“बलात्कृत हुनु तपाइको दोष होइन पूजा तपाईँलाई न्याय दिलाउँछु । ” भन्दै ०७१ साल पुस २ गते मेरो मुद्दा दर्ता भएको जानकारी गराउनु भयो ।
यसरी पुस २ गते दर्ता भएको मुद्दा नं. ०७१–cr–०६५९ मा ०७१ माघ माघ ४ गते पहिलो पेशीमा चढेको थियो तर पालो आएन भनेर पन्छाइयो, ०७१ फागुन २० गते साप्ताहिक पेशी सूचिबाट पेशी स्थगित भई पुनः पेशीमा चढ्ने आदेश भएको मेरो मुद्दा ०७१ चैत्र १५ गतेको पेशी तोकिएको थियो । त्यसबेला पनि हेर्न भ्याइएन भनेर थन्कियो । त्यसपछि ०७२ बैशाख १६, असार ३, श्रावण २७, असोज १७ , मंसिर १३ गते पनि हेर्न भ्याइएन भनी लेखिएको सर्वाेच्च अदालतको वेवसाइटमा देखेँ । अनि त्यसपछि पुष २७ को पेशी भने सो दिन कजलिष्टमा नै परेन भन्ने जानकारी पाएँ ।
कजलिष्टमा नपरेपछि पालो आउने कुरै भएन । त्यसपछि पनि फागुन २ गते पछि ०७३ सालको जेठ ३० मा पनि मेरो मुद्दाको लागि सुनुवाइको पालो आएन । त्यसपछि फेरि ५ महिना पछि मेरो मुद्दा पेशीमा चढ्यो रे कार्तिक २९ गतेको लागि तर मेरो मुद्दा स्थगित गरियो भनेर मेरो वकिलले जवाफ दिँदा म मर्माहत भएँ । उहाँका अनुसार मेरो मुद्दाको अब करिब ५ महिनापछि चैत्र १ गतेको लागि पेशीमा चढेको छ । मलाई थाहा छ यसपटक पनि मेरो मुद्दामा सुनुवाइको पालो आउँदैन ।
माननीय प्रधानन्यायाधीशज्यू,
म अहिले अभिभावकविहीन भएकी छु । अपराधीहरु निर्दोष भनी छुटेकोले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँमा जान सक्तिनँ तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु भने नेपाल सरकारलाई अभिभावक ठानेकी छु । त्यही अभिभावकहरु मध्ये मेरो लागि सबै भन्दा महत्वपूर्ण हजुर हुनुहुन्छ भन्ने लागेर यो पत्र कोरेकी हुँ । कृपया मलाई पनि आफ्नै छोरी झैँ ठानिदिनुहुन अनुरोध गर्दछु । ती अपराधीले निमोठी दिएको मेरो जीवनमा अझै निराशा पलाएको छैन । अहिले म स्नातक तहमा अध्ययनरत छु र भविष्यमा आफूजस्तै पीडित महिलाको पक्षामा काम गर्ने इच्छा छ ।
माननीय प्रधानन्यायाधीशज्यू,
अहिले बलत्कार सम्बन्धी नयाँ कानुन बन्दैछ रे भन्ने सुनेँ । १६२ वर्ष पुरानो वर्तमान मूलुकी ऐनमा परिमार्जन हैन, परिवर्तनको जरुरी छ । संशोधन मात्र हैन, समवेदनायुक्त हुनु जरुरी छ । जन्मकैद भने पनि त्यो आखिर मात्र २० वर्षको सजाय हो रे भन्ने जानकारी पाएकी छु । अनि जति नै वर्षको कानुन बनाए पनि बलात्कृत छोरीले मैले जस्तै सास्ति, पीडा पाउने हुन् । एउटा अदालतले जिताए पनि अर्को अदालतले हराइदिन्छ ।
बलात्कारको पीडा सबैलाई उस्तै हुन्छ तसर्थ अब बन्ने ऐनमा बलत्कारीलाई फाँसीको सजाय व्यवस्था गरी बलात्कृत छोरीहरुको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ भन्ने जोडदार माग गर्छु । अन्त्यमा माननीय प्रधान न्यायाधीशज्यू,मेरो किटानी जाहेरीले पक्राउ परी दोषी साबित भई १३ वर्षका लागि जेल चलान भएका ती बलत्कारीहरु छुट्नु भनेको के उनीहरु निर्दोष अनि म चाहिँ दोषी हुँ त ? यदि म दोषी हुँ भने मलाई तुरुन्तै कारबाही गरियोस् हैन भने ती बलात्कारीहरुलाई पुन पक्राउ गरी फाँसीको सजाय सुनाईयोस् । पुजा बोहोरा, अमेरिका नेपाल
श्रोत: गल्फ एक्ट डेली

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger