कसरी ल्याए एमाले-काँग्रेसलाई चकित बनाउने गरी रञ्जु र किशोरले भोट?
राजधानीका दुई महानगरपालिकाको जारी मतगणनामा विवेकशील र साझा पार्टीले ल्याएको मत देखेर ठूला दलका नेताहरु समेत चकित भएका छन् ।काठमाडौंमा विवेकशील पार्टी तेस्रो स्थानमा छ भने साझा पार्टी चौंथो स्थानमा छ । उता ललितपुरमा भने साझा पार्टी तेस्रो स्थानमा छ । पछिल्लो मतगणना अनुसार, काठमाडौं महानगरपालिकामा विवेकशील पार्टीकी मेयरकी उम्मेदवार रञ्जु दर्शनाले काँग्रेससँग प्रतिस्पर्धा गरिहेकी छिन् । चौंथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले भने विवेकशीललाई पछ्याइरहेका छन् ।१२ बर्षसम्म सशस्त्र युद्द लडेको र हजारौंको बलिदानीपछि सत्तामा आइपुगेको माओवादी केन्द्र, अझ बहालवाला प्रधानमन्त्रीकै पार्टीका उम्मेदवारलाई समेत रञ्जु र किशोरले धेरै पछाडि छाडेका छन् । वैकल्पिक पार्टीका रुपमा आएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका नयाँ शक्ति नेपालले पनि काठमाडौंमा हावा खाएको छ । कृष्णगोपाल श्रेष्ठ रञ्जुले चोरिन एमालेको भोट नेकपा एमालेका नेता एवं केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दैनिक नेपालसँग भने – ‘यो त हामी जस्ता सांगठानिक बलमा उभिएका पार्टीका लागि पनि धक्का हो ।’ नेता श्रेष्ठको विश्लेषणमा विवेकशीलकी रञ्जु नउठेको भए एमालेको भोट धेरै बढ्थ्यो । रञ्जुले एमालेको पार्टीको भोट काटेको नेता श्रेष्ठको दाबी छ । ‘उनले अधिकांश युवा जमातको भोट पाएकी छिन्, खासगरि १८ देखि २०/२२ बर्षका किशोर–किशोरीको भोट विवेकशीलले पाएको देखियो । पार्टी पद्दतिलाई राम्रोसँग बुझ्न नपाएका अनि राजनीतिक रुपमा प्रशिक्षित नभएका युवाहरुले विवकेशीललाई भोट दिएको देखियो ।’ एमाले नेता श्रेष्ठको विश्लेषण छ– ‘रञ्जु नउठेको भए हाम्रो भोट झन् बढ्थ्यो, युवा जमातले काँग्रेसलाई भन्दा हामीलाई नै रोज्थे ।’ नेता श्रेष्ठको बुझाइमा साझा पार्टीले भने युवा जमातको भन्दा पनि काठमाडौंको सम्भ्रान्त वर्ग र दरबारियाहरुको भोट पाएको छ । पुराना दलहरुप्रति नकरात्मक सोच राख्नेहरु पनि विवकेशील र साझाप्रति आकर्षित भएको उनको बुझाइ छ । रञ्जु र किशोर थापाले चुनाव नजिते पनि ठूला दलहरुलाई भने समिक्षाको विषय बनाएको एमाले नेता श्रेष्ठले बताए । ‘जुन ट्रेन्ड काठमाडौँ र ललितपुरमा देखियो, यसले हामीहरुलाई सोच्न बाध्य बनाएको छ ।’– उनले भने । भित्री शहरमा पुगेपछि उनीहरुको मतको संख्या खुम्चने श्रेष्ठको अनुमान छ । प्रदीप पौडेल सामाजिक सञ्जालको कमाल मतपरिणामलाई नजिकबाट नियालिरहेका काँग्रेसका युवा नेता प्रदीप पौडेल पनि विवकेशील र साझा पार्टीको मतलाई ‘अनपेक्षित’ भन्छन् ।‘राजधानीबासीले परिवर्तन खोजेको जस्तो देखियो । परम्परावादीले भन्दा नयाँले केही गर्न गर्न सक्छन् भन्ने भ्रम पनि देखियो ।’, नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले दैनिक नेपालसँग भने – ‘नयाँ पार्टीलाई हामीले मौका पायौं भने गरेर देखाउन सक्छौं भन्ने मौका पनि हुन्छ । त्यही भएको हो काठमाडौँ र ललितपुरमा ।’पौडेल भन्छन्, ‘राजधानी भनेको पार्टीको सांगठानिक भोट हुने ठाउँ पनि होइन् । अन्य ठाउँमा काँग्रेस र एमाले विजयी भएर आए पनि राजधानीमा भने प्रतिपक्षिय कित्तालाई बलियो बनाउन खोजेको जस्तो देखियो ।’काठमाडौँ र ललितपुरमा नयाँ पार्टीको हैसियत काँग्रेस र एमाले जस्ता पार्टीहरुका लागि सोचनीय विषय भएको उनले बताए ।काँग्रेस युवा नेता पौडेलले सामाजिक सञ्जालको प्रभावका कारण पनि विवेकशील र साझा पार्टीले बढी भोट पाएको अनुमान गर्छन् । ‘सामाजिक सञ्जालमा उनीहरुको आक्रमक प्रचार थियो, राजधानीमा सामाजिक सञ्जालको प्रयोगकर्ता धेरै भएकाले पनि त्यसको प्रभाव देखिएको हुन सक्छ ।’, पौडेल भन्छन् – ‘मानिसहरुले जसरी अन्डरइष्टिमेट गरेर विश्लेषण गर्थे, त्यो चाँहि मलाई लाग्थेन । तर, यति धेरै भोट आउँछ भन्ने चाँहि मलाई पनि थिएन ।’ठूला दलहरुसमेत तालमेल गरिरहेका बेला विवेकशील र साझा पार्टीले जुन भोट पाएका छन्, त्यो जनताले उनीहरुप्रति देखाएको आत्मविश्वास र सम्मानका रुपमा लिइएको छ । चुनाव एमाले र काँग्रेसले जिते पनि मतदाताको मनमा भने रञ्जु र किशोर बस्न सफल देखिएका छन् ।स्रोत : दैनिक नेपाल
Labels:
Featured
,
National News
Post a Comment