Latest Updates :

भर्खरै महाअभियोग लगाई निलम्बनमा परेकी सुशीला कार्कीको काठमाडौँको नयाँ घर यस्तो छ, सुन्दै अपतारिलो लाग्छ उनले यो घर कसरी बनाइन भनेर बुझ्दा !

SHARE THIS POST :
प्रकाशित मिति: May 2, 2017
धापासी हाइटको कच्ची सडक पछ्याउँदै जाँदा पाखोमा पुगिन्छ, जहाँ भर्खरै एउटा नयाँ घर बनेर सकिएको छ। घरमा ठूलो बगैंचा छैन। एउटाभन्दा बढी गाडी अट्ने पार्किङ छैन। करिब चार आना जग्गामा सानो परिवार ठिक्क अट्ने गरी बनाइएको यो सानो घर सरकारले आइतबार महाअभियोग लगाएर निलम्बन गरेको प्रधानन्यायाधीश सुशीला कार्कीको हो भन्दा धेरैलाई पत्याउन मुश्किल पर्छ।

कार्कीको यो घरबारे एक वर्षअघि नै कुरा उठेको थियो, जब उनी प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा थिइन्।  एक सांसदले सोधेको प्रश्नमा जवाफ दिँदै उनले भनेकी थिइन्, ‘बसुन्धाराभन्दा माथि डाँडामा साढे ६ लाख आनामा किनेको जग्गामा मेरो घर बन्दैछ, मोरङको रोडलाइनको तीन कठ्ठा जग्गा बेचेर र बाँकी सञ्चयकोषको पैसा झिकेर घर बनाउन आँटेकी छु।’

त्यतिबेला आफ्नो निर्माणाधीन घरको हिसाब सार्वजनिक गर्दै उनले प्रमाणसमेत पेस गरेकी थिइन्। संयोगले निलम्बनमा परेको दोस्रो दिन सोमबार नै कार्कीले आफ्नो नयाँ घरको पूजा गरिन्। कार्कीलाई यो घर बनाउन ठ्याक्कै दुई वर्ष लाग्यो। करिब ३० वर्ष वकालतमा बिताएर झन्डै आठ वर्षअघि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएकी कार्कीको राजधानीमा यो पहिलो घर हो।

एक वर्षअिघ प्रधानन्यायाधीशका रुपमा बालुवाटार क्वार्टर सर्नु अघिसम्म उनी धापासीको एउटा सामान्य घरमा डेरा बस्दै आएकी थिइन्। उनको डेरामा दुईवटा मात्र कोठा थिए। कौसीमा जालीले बारेर भान्सा बनाएकी थिइन्। सर्वोच्चको न्यायाधीशका रुपमा पाउने सुरक्षाकर्मीको निम्ति पनि त्यहाँ छुट्टै कोठा थिएन। जेठ २४ गते अवकाश पाएपछि बालुवाटार क्वार्टरबाट सोझै नयाँ घरमा सर्ने उनको योजना थियो।

कार्कीले आफ्नो जीवनलाई सुख र दु:खबाट सधैं माथि राख्दै आएकी छन्। उनको यो निष्णा र इमानमा पति दुर्गा सुवेदीको पनि ठूलो साथ र सहयोग छ। कार्कीले संसदीय सुनुवाइकै क्रममा भनेकी थिइन्, ‘काठमाडौंमा हामी तराईबासीका लागि एक करोडको घर भनेको ठूलो कुरा हो, यसैका लागि मैले भ्रष्टाचार गरेकी भए श्रीमानसँग डिभोर्स भइसक्थ्यो।’ सोमबार नयाँ घरको पूजाका क्रममा सुवेदीसँग कुराकानी गर्दा उनले पनि कार्कीको निष्ठा र इमानको खुलेर तारिफ गरे।

‘प्रजातन्त्र र न्यायप्रतिको निष्ठा र इमानमा उनले कहिल्यै सम्झौता गरेकी छैनन्,’ सुवेदीले सेतोपाटीसँग भने, ‘त्यसैले महाअभियोग लाग्ला भन्ने त कल्पना पनि थिएन। तर, लाग्यो। घटनाक्रम देख्दा लाग्छ, कर्म सायद अर्कैले माथिबाट गराइरहेको छ र हामी त्यसका निमित्त मात्र हौं।’ कर्म गर्ने र लाभको आश नगर्ने जीवनशैली आफूले कांग्रेसको राजनीति गर्ने क्रममा सिकेको सुवेदी बताउँछन्। उनले पञ्चायतविरुद्धको आन्दोलनमा कांग्रेस नेता बिपी कोइरालासँगै काम गरेका थिए।

‘‍यहाँ कहिले सर्नु हुन्छ त?’ पूजा सकेर आराम गरिरहेकी कार्कीलाई यो प्रश्न सोध्दा उनले भनिन्, ‘घर त तयार भइसक्यो, तर अहिले सर्दिनँ, प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारबाटै महाअभियोग सामना गर्छु। त्यसैले आफ्नो अवधिसम्म म सरकारी निवासमै बस्छु।’ सुशीला कार्कीले आफ्नो निष्ठा, इमान र निर्भीकताको परिचय सर्वोच्च अदालत छिरेपछि मात्र दिएकी हैनन्। विराटनगरमा वकालत गर्ने बेलादेखि नै उनी यस्तै थिइन्।

विराटनगरजस्तो राजनीतिक किल्लामा हुर्किएकीले व्यावसायिक जीवनमा आइपर्ने राजनीतिक प्रभाव र बाधाहरूसँग उनी अपरिचित  छैनन्। कार्कीलाई गुरु मानेर २४ वर्ष सँगै काम गरेका विराटनगरका अधिवक्ता शान्तिराम भण्डारीले केहीअघि सेतोपाटीसँग भनेका थिए, ‘उहाँलाई कसैले सजिलै प्रभावमा पार्न सक्दैन।’ भण्डारीले धेरै समयअघिको एउटा चुनावको उदाहरण सुनाए।

कार्कीका पति दुर्गा सुवेदीसँग निकट मानिने बद्री बस्नेत त्यो भेगका कांग्रेसी उम्मेदवार थिए। कार्कीको ल फर्ममा काम गर्ने भण्डारी भने कम्युनिस्ट राजनीतिको समर्थन गर्थे। आफ्ना प्रतिद्वन्द्वी लालबाबु पण्डितलाई समर्थन गरेको भन्दै भण्डारीलाई कार्कीको ल फर्मबाट निकाल्नुपर्ने कुरा बस्नेतले गरेछन्।  जब सुशीलाको कानमा यो कुरा पुग्यो, उनले तुरुन्तै बस्नेतलाई फोन गरेर भनिछन्, ‘तपाईंका नातेदारदेखि आफ्ना मान्छेका मुद्दा कति छन्, आउनुस् फाइल लिएर जानुस्, आइन्दा मेरो ल फर्मका साथीहरूलाई निकाल्ने या अरु केही भन्ने होइन।’

‘उहाँले राजनीति, नाता, सम्बन्ध र अन्य प्रभावको छायाँ आफ्नो व्यावसायिक जीवनमा पर्नै दिनुभएन,’ भण्डारीले भनेका थिए, ‘त्यसैले आफ्ना मान्छे, साथीभाइ र आफन्तहरू उहाँसँग बेखुसी रहन्छन्।’  कार्कीका लागि वकालत आफ्नो व्यवसाय थियो, तर उनले कहिल्यै मुद्दाको ठेक्का लिइनन्। कसैको ‘एड्भाइजर’ पनि भइनन्। ‘आममान्छे मुद्दा लडिदे भनेर आए उसको फाइल च्यापेर वकालत गरिदिने हो। कहिल्यै मुद्दा जिताएबापत पैसा लिनु पनि भएन,’ भण्डारीले भने, ‘सेवाग्राहीले सकेजति दिन्थे, त्यतिमै चित्त बुझाउनु हुन्थ्यो।’

कार्की स्वयं पनि सधैं धर्मलाई मनमा राखेर काम गरेको बताउने गर्छिन्। सोमबार नयाँ घरको पूजापछि सेतोपाटीसँगको कुराकानीका क्रममा पनि उनले त्यही भनिन्, ‘म किसानकी छोरी हुँ, मैले भ्रष्टाचार गर्न सिकिनँ, त्यो मेरो संस्कारै हैन।’ उनले शक्तिमा रहिरहन कतिले नेताहरुसँग संगत गर्छन् भन्ने देखेकी छन्। अवकाशपछि पनि आफ्ना सन्तानको पढाइ र कामका लागि नेताहरुलाई प्रयोग गरेको पनि उनलाई थाहा छ। त्यस्ता व्यक्तिले आफ्नो धर्मसँग सम्झौता गरेर राजनीतिक सम्बन्ध बनाएको देख्दा उनलाई नमजा लाग्छ।

‘मलाई कहिल्यै त्यस्तो लोभ भएन, मेरो श्रीमानलाई पनि भएन। हामी त यस्तै छौँ। अब त छोराले पनि आफ्नो लागि आफैं गर्न सकिहाल्छ,’ उनले भनिन्। आफ्नो न्यायिक जीवनबाट पूर्ण सन्तुष्ट कार्कीको जिन्दगीसँग अरु कुनै धोको छैन। अवकाशपछि बाँकी जीवन यही धापासी हाइटको सानो घरमा आनन्दले बिताउने उनी बताउँछिन्।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger