नेपालस्थित अमेरिकी दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै सप्तरीमा प्रदर्शनकारीहरूको ज्यान जाने गरी भएको घटनाले गम्भीर चिन्ता तुल्याएको भन्दै संयमता अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको हो । अमेरिकी दूतावासले जारी विज्ञप्तिमा भनिएको छ, 'राजनीतिक विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अङ्ग हो, तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन । नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा हामी नेपाली सुरक्षा निकायलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौँ । त्यसैगरी सबै प्रदर्शनकारी र दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गर्दछौं ।'
'नेपाली जनता र नेपाल सरकार ऐतिहासिक स्थानीय निर्वाचनको तयारीमा जुटिरहेको देख्न पाउँदा हामी उत्साहित छौँ । संविधान कार्यान्वयन गर्ने र मुलुकका सबै स्थानमा उत्तरदायित्व तथा जवाफदेहिता सुनिश्चित गर्ने दिशामा यो एक महत्त्वपूर्ण कदम हो' विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नेपाली जनता लोकतान्त्रिक मार्गमा अगाडि बढ्दै गर्दा अमेरिका सबै नेपालीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको समेत जनाइएको छ ।
एमालेको मेची महाकाली अभियानमा अवरोध गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप हुँदा ३ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । झडपमा झन्डै दुई दर्जन घाइते भएका थिए ।

Post a Comment